उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास र चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीकुमारीले नेपाल आयल निगममार्फत सिलिगुडी–चारआली तथा अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण कार्य अगाडि बढेको जानकारी दिइन्।
उनले सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणका लागि जग्गा व्यवस्थापन भइसकेको र अन्य प्राविधिक तयारीका कामहरू नेपाल आयल निगमले अघि बढाइरहेको बताइन्। औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरस्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सडक स्तरोन्नति गर्ने तथा औद्योगिक क्षेत्र निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य पनि जारी रहेको उनको भनाइ थियो।
मन्त्रीकुमारीका अनुसार पेट्रोलियम पदार्थको भण्डारण क्षमता कुल मागको तीन महिनासम्म धान्न सक्ने स्तरमा पुर्याउने सरकारी लक्ष्यअनुसार काम भइरहेको छ।
यस्तै, चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन मन्त्रालयले कूटनीतिक माध्यमबाट पहल गरिरहेको उनले बताइन्। चिया, अलैंचीलगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान तथा बजार पहुँच विस्तारका लागि सम्बन्धित उद्यमी–व्यवसायीसँग लागत साझेदारीमा वेयरहाउस निर्माण गर्न स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिइन्।
उनले कृषि उपजको भण्डारण तथा बजार व्यवस्थापन सुदृढ बनाउँदै निर्यात प्रवद्र्धनमा सरकार केन्द्रित रहेको स्पष्ट पारिन्।
