सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा विगत तीन दिनदेखि करिब २६ वटा जंगली हात्तीको बथान राति गाउँ पस्न थालेपछि स्थानीयवासी रातभर त्रासमा बस्न बाध्य भएका छन्। बेलुका चुरे जंगलबाट गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको स्थानीय रबिलाल चौधरीले बताए।
चौधरीका अनुसार हात्तीको डरले गाउँलेहरू रातभर जाग्राम बस्नुपरेको छ। उनले भने, ‘बेलुका हुनासाथ हात्तीको बथान गाउँ पस्ने गरेको छ। हात्तीको डरले गाउँलेहरू रातभर त्रासमा बिताउनुपरेको छ।’ स्थानीय बहादुर चौधरीले हात्तीको सम्भावित क्षति र आक्रमणको डरले गाउँलेहरू एक ठाउँमा भेला भएर रात काट्ने गरेको जानकारी दिए।
हात्तीले धानबाली र अन्य नगदेबालीमा क्षति पुर्याउन थालेपछि स्थानीयको चिन्ता बढेको छ। धान भित्र्याउने र नगदेबाली लगाउने समय भएकाले थप क्षति हुने जोखिम बढेको उनीहरूको भनाइ छ। बिहान बाक्लो हुस्सु लाग्ने भएकाले हात्तीको आक्रमणको जोखिमसमेत थपिएको स्थानीयले जनाएका छन्।
स्थानीयले हात्ती गाउँ प्रवेश गरेकोबारे प्रहरीलाई खबर गर्दा पनि तत्काल प्रहरी उपस्थित नभएको गुनासो गरेका छन्। यद्यपि, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली परिचालन गरिएको बताएका छन्।
एक साताअघि हात्तीको आक्रमणबाट एकको मृत्यु
सप्तरीको उत्तरी भेगका बस्तीमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले वर्षौंदेखि आतङ्क मच्चाउँदै आएको छ। गत आइतबार (नोभेम्बर १५, २०२६) सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो। पछिल्ला केही दिनदेखि सप्तरीका शम्भुनाथ र अग्निसाइर कृष्णसवरन गाउँपालिकामा पनि हात्तीको समूहले घर भत्काउँदा लाखौंको क्षति पुगेको छ।
विज्ञहरूका अनुसार सरकारले अघि बढाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तारलगायतका पूर्वाधार विकासले हात्तीको बासस्थान खल्बलिएको र ओहोर–दोहोरमा समस्या आएको छ। यसले मानव–हात्ती द्वन्द्व बढाएको उनीहरूको बुझाइ छ। विगत २० वर्षमा नेपालमा हात्तीको आक्रमणबाट २७४ जनाको मृत्यु भएको छ भने सप्तरीमा मात्र हालसम्म २३ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा १३८ जना घाइते भएका छन्, ३,७५५ को सम्पत्ति र ६,६०६ जनाको बालीनाली नष्ट भएको छ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ अनुसार हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख रुपैयाँ राहत पाउने व्यवस्था छ। सख्त घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजारसम्म दिने कानुनी व्यवस्था छ। घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको छ।