अमेरिकाको भर्जिनियास्थित अदालतमा नरेश भट्टले नोभेम्बर ५, २०२६ मा श्रीमती ममता काफ्ले भट्टको शव टुक्राटुक्रा पारी फोहोरमा फालेको स्वीकार गरेका छन्।
नरेशले नोभेम्बर ५ मा भएको सुनुवाइका क्रममा सन् २०२४ जुलाई ३० मा ममताको शव बेडरुममा मृत फेला पारेपछि शव व्यवस्थापन गरेको विस्तृत विवरण अदालतमा सुनाएका हुन्। उनले शव कसैले नभेटोस् भन्ने उद्देश्यले टुक्राटुक्रा पारेको सरकारी वकिलको प्रश्नमा ‘हो’ भनी जवाफ दिएका छन्।
नरेशका अनुसार, उनले जुलाई २९ को रात करिब ८ बजे सुत्न गएका थिए। ममता भने तल किचनमा फोनमा कुरा गरिरहेकी थिइन्। भोलिपल्ट बिहान करिब ४ बजे छोरीको हेरचाह गर्न उठ्दा मास्टर बाथरुम नजिक असामान्य गन्ध महसुस गरेपछि ममतालाई बेडको खुट्टातर्फ भुइँमा अचेत अवस्थामा भेटेको बताए। ममताको अनुहार र भुइँमा बान्ता, रगत, खानाका टुक्रा र औषधिका क्याप्सुलसमेत देखिएको उनको बयान छ। उनले Celphos नामक कृषि विषादीसमेत देखेको दाबी गरे।
शव लुकाउनका लागि आवश्यक सामान खोज्न आफू Home Depot र Walmart गएको पनि नरेशले अदालतमा बताए। उनले Home Depot बाट पञ्जा किनेको र शवलाई फोहोरको कन्टेनरमा अटाउने गरी सानो बनाउन प्रयास गरेको स्वीकार गरे। उनले शवका खुट्टा र धड अलग गर्ने प्रयास गरेको विवरण पनि बयानमा आएको छ। उनले शवका टुक्राहरू किचनका फोहोर राख्ने झोलामा राखी तीनवटा झोला प्रयोग गरेको अनुमान सुनाए।
नरेशमाथि योजनाबद्ध पहिलो तहको हत्या (First-Degree Murder), शव लुकाउने (Concealing a Dead Body) र मृत शरीरको अपमान (Defiling a Dead Body) गरी तीनवटा गम्भीर आरोप छन्। उनले शव टुक्राटुक्रा पारेको स्वीकार गरे पनि ममताको हत्या आफूले गरेको भने स्वीकार गरेका छैनन्। जूरीले बाँकी प्रमाणका आधारमा निर्णय गर्नेछ। यसअघि एनएमखबरले नरेश भट्टले श्रीमतीको शव टुक्राटुक्रा पारेको अदालतमा स्वीकार गरेको खबर प्रकाशित गरिसकेको छ।