चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना सकिँदा नेपालको कूल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २०८३ कात्तिक मसान्तसम्ममा सार्वजनिक गरेको प्रतिवेदनले देखाएअनुसार, यो कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०८ प्रतिशत हो र यसले प्रत्येक नेपालीको टाउकोमा करिब ९९ हजार रुपैयाँ ऋणको बोझ थपेको छ।
कार्यालयको प्रतिवेदनलाई आधार मान्दा, चालु आर्थिक वर्षको सुरुवातीमा कूल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको थियो। विनिमय दरको नाफासहित ऋण दायित्वमा आएको कमीपछि कात्तिक मसान्तसम्ममा यो रकम २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँमा झरेको छ।
पृष्ठभूमि
- सार्वजनिक ऋण व्यवस्थापन कार्यालय २०७५ असार २० मा सार्वजनिक ऋण व्यवस्थापन कार्यलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन स्थापना भएको थियो।
- सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आइसकेको छ।
- आर्थिक वर्ष २०८२/८३ को लागि नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान छ।
कूल ऋण दायित्वमध्ये ५२.९३ प्रतिशत (१५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ) विदेशी ऋण छ भने ४७.०७ प्रतिशत (१४ खर्ब ४७ अर्ब ५९ लाख रुपैयाँ) आन्तरिक ऋण रहेको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा कात्तिक मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्र जुट्न सकेको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
नयाँ ऋणले पुरानो दायित्व भुक्तानी
चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा सरकारले १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ नयाँ ऋण सङ्कलन गरेको छ। सोही अवधिमा सरकारले १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ पुरानो ऋणको साँवा र ब्याज भुक्तानीका लागि खर्च गरिसकेको छ। यसअनुसार, नयाँ ऋणबाट प्राप्त रकमको करिब ९१.६१ प्रतिशत हिस्सा पुरानै दायित्व भुक्तानीमा सकिएको देखिन्छ।
कात्तिक मसान्तसम्ममा आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ। वार्षिक लक्ष्यको तुलनामा आन्तरिक ऋण परिचालनको प्रगति ३०.४९ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण परिचालनको प्रगति ११.६२ प्रतिशत मात्र देखिएको छ।
ऋण भुक्तानीको प्रगति
सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कात्तिक मसान्तसम्ममा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ ऋणको भुक्तानी सम्पन्न भएको छ, जुन वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।
ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४०.६४ प्रतिशत र ब्याज भुक्तानीमा २३.४० प्रतिशत खर्च भइसकेको छ। यसैगरी, वैदेशिक ऋणको साँवा भुक्तानीमा २४.०७ प्रतिशत र ब्याज भुक्तानीमा २४.९० प्रतिशत रकम खर्च भएको छ।
अझै ५ खर्ब ऋण परिचालन गर्न बाँकी
सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्नुपर्नेछ। यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।