NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतमा नेपाली कामदारको विश्वासमाथि प्रश्नचिह्न: केही घटनाले खस्किँदै छवि

भारतमा नेपाली कामदारमाथि चोरीका आरोप लाग्न थालेपछि दशकौंदेखिको विश्वासमाथि प्रश्नचिह्न खडा भएको छ। दिल्ली, बैंगलोर, हैदरावाद जस्ता शहरमा करोडौंको चोरीका घटनामा संलग्नताको आरोप लागेको छ। इमान्दार नेपाली कामदारको रोजगारी र सम्मानमा असर परिरहेको छ।
Bikram Magar
Bikram Magar
25 May 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
Share:

भारतको दिल्लीस्थित राजेन्द्रनगरमा करिब २ करोड १० लाख रुपैयाँ बराबरको सुनचाँदी र नगद चोरी प्रकरणमा संलग्न उपेन्द्र रावत र लोकेश धामी पक्राउ परेका छन्। उनीहरूले चोरीको धन खरिद गर्ने अछामका अर्जुन सुनार पनि पक्राउ परेका छन्। भारतीय प्रहरीको अनुरोधमा नेपाल प्रहरीले गरेको यो कारबाहीपछि भारतीय पक्षले नेपाली प्रहरीको प्रशंसा गरेको थियो।

दशकौंदेखि भारतमा ‘नेपाली’ भन्नासाथ इमान्दारी र भरोसाको पर्याय मानिन्थ्यो। घरको चाबी सुम्पिने विश्वास, बच्चा जिम्मा लगाउने भरोसा र दशकौँदेखि बनेको सकारात्मक छवि एकाएक प्रश्नको घेरामा आएको छ। दिल्लीदेखि बैंगलोर, हैदरावाददेखि हरियाणासम्म घरेलु कामदार, होटल स्टाफ र सुरक्षा गार्डका रूपमा पुगेका केही नेपाली युवामाथि आफ्नै मालिकको घरबाट करोडौँ बराबरका सुन, नगद र बहुमूल्य सामान चोरी गरेर नेपाल फर्किएको आरोप लाग्न थालेको छ।

यस्ता घटनाको संख्या बढ्दै जाँदा भारतीय प्रहरी नेपालसम्म आएर खोजी गर्न बाध्य भएको छ। यसको असर केवल अपराधमा सीमित नरही भारतमा इमान्दारीपूर्वक श्रम गरेर जीवन चलाइरहेका लाखौँ नेपालीको रोजगारी, सम्मान र भविष्यमा समेत पर्न थालेको छ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले बाजुराका उपेन्द्र रावत, लोकेश धामी तथा चोरीको धन खरिद गर्ने अछामका अर्जुन सुनारलाई पक्राउ गरी सामान बरामद गरेको थियो। जेठ ८ गते स्थानीय जनप्रतिनिधिको रोहवरमा ती सामान वास्तविक धनी सञ्जयकुमार माखीजालाई फिर्ता गरिएको थियो।

यसअघि २०८२ असारमा भारतको कर्नाटक राज्यको बैंगलोरस्थित एस रमेश बाबुको घरबाट सुन, चाँदी र नगद चोरी भएको थियो। कैलाली प्रहरीले कालिकोटका उदय विष्ट र भैरे विष्टलाई पक्राउ गरेको थियो। चोरीका गहना कैलालीका पदम सुनारलाई बिक्री गरिएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको थियो।

२०७५ पुसमा सुर्खेत प्रहरीले भारतको बैंगलोरस्थित एक घरबाट ३ किलोभन्दा बढी सुनचाँदी चोरी गरेर नेपाल ल्याएको आरोपमा कालीकोटका मंगल शाही र उनकी श्रीमतीलाई पक्राउ गरेको थियो। भारतीय प्रहरी उनीहरूको खोजीमा तीन दिनसम्म सुर्खेतमा बसेको थियो।

हैदरावादमा भएको अर्को चोरी प्रकरणमा दैलेख, अछाम र कालीकोटका केही युवामाथि ४ करोडभन्दा बढी मूल्यका गहना र हिरा चोरी गरेको आरोप लागेको थियो।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्र यस्ता पाँचवटा घटना सार्वजनिक भएका छन्। भारतमा काम गर्न गएर चोरी गरी सामानसहित फर्किएका १२ जना नेपालमा पक्राउ परिसकेका छन्।

प्रहरी अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार काममा गएपछि पहिले मालिकको विश्वास जित्ने, घरको अवस्था बुझ्ने र त्यसपछि योजनाबद्ध रूपमा चोरी गरेर नेपाल फर्किने शैलीका घटना बढ्दै गएका छन्। यसको प्रत्यक्ष असर भारतमा इमान्दारीपूर्वक काम गरिरहेका नेपालीमाथि परेको छ। कुनै चोरीको घटना भएपछि सबैभन्दा पहिले नेपाली कामदारमाथि शंका गरिन थालेको छ।

कतिपय अवस्थामा भारतीय प्रहरीले नेपाली कामदारमाथि कडा निगरानी गर्ने, सोधपुछ गर्ने तथा दबाब दिने गरेको गुनासो समेत सुनिने गरेको छ। भारतमा चोरी गरेर नेपाल आएका व्यक्तिलाई नेपालमै कडा कानूनी कारबाही गर्ने स्पष्ट कानूनी व्यवस्था प्रभावकारी नभएको भन्दै प्रहरी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। कानून नभएकै कारण कतिपय व्यक्ति बारम्बार यस्ता घटनामा संलग्न हुने गरेको प्रहरीको भनाइ छ।

नेपाल–भारत सम्बन्ध केवल राजनीति वा सीमासम्म सीमित छैन। दैनिक रोजगारी, परिवार, व्यापार र आपसी विश्वाससँग पनि यो सम्बन्ध जोडिएको छ। तर, केही व्यक्तिको आपराधिक गतिविधिले त्यो सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता बढ्दै गएको छ। यस्ता घटना निरन्तर बढिरहे भारतीय शहरहरूमा नेपाली कामदारमाथि थप कडाइ हुन सक्ने र नेपालीप्रतिको धारणा गहिरिन सक्ने देखिन्छ। सीमापार अपराध नियन्त्रणमा नेपाल र भारतबीच अझ प्रभावकारी समन्वय, कडा कानूनी व्यवस्था तथा विदेश जाने युवामा सचेतना आवश्यक देखिएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार