नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज (शनिबार) विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ५ बजे प्रतिस्पर्धा हुँदैछ। यो प्रतियोगिताको २६औँ खेल हो।
लुम्बिनी लायन्सले हालसम्म ६ खेल खेल्दै ९ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले, पोखरा एभेन्जर्सलाई ८ विकेटले, जनकपुर बोल्ट्सलाई १६ रनले र कर्णाली याक्सलाई ४ विकेटले हराएको छ। चितवन राइनोजसँगको खेल नतिजाविहीन टुंगिएको थियो भने काठमाडौं गुर्खाजसँग ३६ रनले पराजित भएको थियो।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स ६ खेलबाट ६ अंक जोडेर अंक तालिकाको पाँचौँ स्थानमा छ। विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले, जनकपुर बोल्ट्सलाई २ रनले र पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ। चितवन राइनोज, कर्णाली याक्स र काठमाडौं गुर्खाजसँग भने विराटनगर पराजित भएको छ।