पाँचथरको याङ्वरक गाउँपालिकामा हालै आएको बाढी-पहिरोले ठूलो क्षति पुर्याएको छ। दिनभरि घाम लागे पनि राति एकाएक मेघगर्जनसहित भारी वर्षा भएपछि कावेली र तमोर नदी आसपासका क्षेत्र प्रभावित भएका हुन्। यस प्रकोपबाट याङ्वरकका १, २ र ३ नम्बर वडाका बासिन्दा बढी प्रभावित भएका छन्। दुई घर बगाउनुका साथै मध्यपहाडी लोकमार्गसहितका सडक अवरुद्ध भएका छन्।
विद्युत्, खानेपानी, सिँचाइ र नगदेबाली अलैँची खेतीमा ठूलो क्षति पुगेको छ। नदी तटीय क्षेत्रका कैयौं खेत बगेका छन् भने मोटरेबल पुल र झोलुङ्गे पुलहरूमा समेत क्षति भएको छ। याङ्वरक–३ का वडाध्यक्ष विमल राईले बाढी-पहिरोले ठूलो क्षति गरेको र आफूले जेठ महिनामै यति ठूलो वर्षा, बाढी र पहिरो आएको सम्झनामा नभएको बताए। उनले पछिल्ला दुई वर्षयता यसरी नै एकाएक ठूलो पानी पर्ने र सबै बगाउने गरेकोप्रति आश्चर्य व्यक्त गरे।
याङ्वरक मात्रै नभई छिमेकी जिल्ला ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा पनि यसैगरी पानीले असर पारेको छ। कति पानी पर्यो भन्ने मापन केन्द्र नभए पनि स्थानीयवासीका अनुसार निकै ठूलो वर्षा भएको थियो। यसैगरी भारतको सिक्किम क्षेत्रमा पनि केही दिनयता भारी वर्षा भइरहेको समाचार छ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार सरकारी तथ्याङ्कमा धेरै पानी परेको नदेखिनुको कारण मापन केन्द्रको अभाव हुनसक्छ। उनले एकै ठाउँमा धेरै पानी पर्दा यस्तो क्षति हुने गरेको बताए। उनले पटकपटक मापन केन्द्र थप्न सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे।
पछिल्ला वर्षहरूमा पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ जस्ता जिल्लामा बाढी-पहिरोले ठूलो क्षति गरिरहेको छ। ज्यान जाने, घर बगाउने, सडक र पुलमा क्षति हुने घटनाहरू निरन्तर भइरहेका छन्। विगतमा असार–साउन–भदौमा बढी वर्षा हुने र बाढी-पहिरो जाने गर्थ्यो भने अहिले वैशाख–जेठ, असोज–कात्तिकमै ठूलो वर्षा भई क्षति पुर्याइरहेको छ।
डा. उप्रेतीले मनसुनको चेन परिवर्तन भइरहेको र जलवायु परिवर्तनले समुद्रको तापक्रम बढेकाले यस्तो भइरहेको बताए। गत असोज १९ गते इलामको बाढी-पहिरोमा ३९ जनाको मृत्यु र १ जना बेपत्ता हुँदा करिब ११ अर्बको क्षति भएको थियो। सूर्योदय नगरपालिकामा ४२ वर्षपछिको रेकर्ड ब्रेक वर्षा भएको थियो। सोही बेला पाँचथरमा पनि दुई जनाको मृत्यु र ठूलो संख्यामा विस्थापित भएका थिए।
२०७९ सालमा ताप्लेजुङको सिदिङ्वालगायतका क्षेत्रमा ठूलो क्षति भएको थियो। त्यस्तै, २०७९ कात्तिक ४ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका आसपासमा भएको बेमौसमी वर्षाले ३० जनाको ज्यान लिएको थियो भने चार जना बेपत्ता भएका थिए। २०८० असारमा पाँचथरको फालेलुङमा भएको अधिक वर्षाले पाँच वटा मोटरेबल पुल बगाउनुका साथै खेतीबाली र अलैँची खेती नष्ट गरेको थियो। त्यसपछि पाँचथरमा मात्रै पाँच जना बेपत्ता र एक सयभन्दा बढी विस्थापित भएका थिए। २०८१ असोज दोस्रो साता आएको बाढी-पहिरोले पाँचथरमा ८ जनाको मृत्यु र ३ जना बेपत्ता भएका थिए। हेवा खोलाको पुल पुनः बगेको थियो भने सडक, कृषि र जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो।
पूर्वी पहाडमा वर्षेनी भइरहेको यो क्षतिबारे हालसम्म कसैको पनि चासो नदेखिनु चिन्ताजनक छ। जलवायु परिवर्तन र अव्यवस्थित विकासे आयोजनाका कारण यस्तो भएको भनिए पनि यसमा सरकारको ठोस अध्ययन पुगेको छैन। विपद्को पूर्वतयारीमा पनि सरोकारवाला निकायको ध्यान पुगिरहेको देखिँदैन। संघ, प्रदेश र स्थानीय सरकार सबै यस विषयमा उदासीन छन्। विपद् व्यवस्थापन समितिहरू बैठकमा मात्र सीमित छन्। पूर्व तयारीका सामग्री जुटाउने, जनशक्ति तयारी अवस्थामा राख्ने, पूर्व सूचना प्रणालीलाई मजबुत बनाउने, जोखिम आकलन गर्ने र प्रभावितलाई स्थानान्तरण गर्ने योजनाहरू हालसम्म देखिएका छैनन्।
