नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। पदीय दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकम जग्गा खरिदमा प्रयोग गरी शुद्धीकरण गरेको दाबीसहित मंगलबार मुद्दा दायर गरिएको हो।
अख्तियारको आरोपपत्र अनुसार, अधिकारीले महानिर्देशक पदमा रहँदा प्राधिकरणका विभिन्न ठेक्कापट्टाको स्वीकृति र भुक्तानीमा सहजीकरण गरिदिए बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालसँग सो रकम घुस लिएका थिए। उक्त गैरकानुनी रकम लुकाउने नियतले उनले श्रीमतीको नाममा ललितपुर महानगरपालिका-१५ मा १३ आना जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको छ।
जग्गा खरिद गर्दा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्रै थैली रकम कायम गरी वास्तविक कारोबार लुकाइएको अख्तियारको दाबी छ। बाँकी रहेको रकम ठेकेदार कम्पनीबाट घुसबापत प्राप्त गरी श्रीमतीको बैंक खातामार्फत कारोबार देखाएर सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको जिकिर छ।
आयोगले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत दुई वटा छुट्टाछुट्टै कसुरमा सजायको मागदाबी गरेको छ। भ्रष्टाचारतर्फ १ करोड ७१ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तथा कैद सजाय माग गरिएको छ। साथै, घुसको रकमबाट खरिद गरिएको ललितपुरको १३ आना जग्गा र त्यसको बढे–बढाएको सम्पत्ति समेत जफत गर्न माग गरिएको छ।
अख्तियारले घुस दिने गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाललाई पनि प्रतिवादी बनाएको छ। उनलाई घुस दिएको र सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको अभियोगमा अधिकारी सरह नै बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
अधिकारी राष्ट्रसेवक कर्मचारी भएको र उनले गम्भीर प्रकृतिको कसुर गरेको भन्दै थप सजायको समेत माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
