प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई पार्टीको काममा मात्र सीमित नभई मुलुकको दीर्घकालीन विकासमा आफ्नो ज्ञान र सीप प्रयोग गर्न निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले परम्परागत राजनीतिक विषयभन्दा माथि उठेर दीर्घकालीन नीति निर्माण र नवीन सोचमा केन्द्रित हुन आग्रह गरे।
“तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ र मुलुकको नीति निर्माण गर्ने थलोमै पुग्नुभएको छ,” प्रधानमन्त्री शाहले भने, “त्यसैले देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
उनले सांसदहरूलाई दलीय राजनीतिकोसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि उत्तिकै प्राथमिकतामा राख्न सुझाव दिए।
आवधिक निर्वाचन वा राजनीतिक गतिविधिका बेला पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा सांसदहरूले आफ्नो विज्ञतालाई देश विकासको योजनामा रूपान्तरण गर्नुपर्ने धारणा प्रधानमन्त्री शाहले व्यक्त गरे।
