पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडकखण्ड बाढीपहिरोका कारण अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरमा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ गिम्दीबेँसीमा बीपी राजमार्ग आज बिहान ४:५५ बजेदेखि लेदोसहितको पहिरोले अवरुद्ध भएको छ। सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा कर्णाली राजमार्ग पनि सुख्खा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पृष्ठभूमि
- नेपाल विश्वमा बिपत्का कारण जोखिममा रहेको २० वटा देशमध्ये पर्छ।
- जलवायु परिवर्तनको प्रभावबाट हुने बिपत्मा नेपाल विश्वमा छैटौँ स्थानमा, भूकम्पको दृष्टिले एघारौँ स्थानमा र बाढीपहिरोको दृष्टिले तिसौँ स्थानमा पर्छ।
- पहाडमा जथाभावी सडक निर्माणले प्राकृतिक जोखिम बढाएको छ।
मध्यपहाडी राजमार्गको खोटाङ खण्ड, ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डहरू पनि अवरुद्ध छन्। ललितपुर महानगरपालिका–२ बल्खु सुन्दरीघाट क्षेत्रमा कान्तिलोकपथ करिडोर पानीको बहावले अवरुद्ध भएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से र पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा कालीगण्डकी करिडोर लेदोसहितको पहिरोले अवरुद्ध छ। मुगुको छाँयानाथ रारा नगरपालिका–७ ताल्चामा नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभाव नेपालमा परेको छ। नेपाल मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले चक्रवातको प्रभाव स्वरूप देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिएकी छिन्।
कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ। २०८३ कार्तिक १४ गते बिहान जलाशयको सतह १,५२७.९३ मिटर पुगेको छ, जुन अधिकतम भण्डारण क्षमता १,५३० मिटरको नजिक हो। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै १,५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठकले जोखिमयुक्त जिल्लामा विपद् जोखिमसम्बन्धी सूचना निरन्तर संकलन तथा अद्यावधिक गर्न, सर्वसाधारणलाई समयमै सुसूचित गर्न र आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
