रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई भन्सार विभागमा तानिएको छ। बजेटमा वृद्धि भएको कर छल्न सवारी साधनको अनधिकृत रूपमा भन्सार जाँचपासमा सहयोग गरेको आरोपमा उनीहरूलाई विभागमा तानिएको हो।
अर्थ मन्त्रालयका अनुसार, कार्यालयले सवारी साधन नआई सूचनाका आधारमा मात्र भन्सार जाँचपास गरेको आरोप छ। यस प्रकरणको अनुसन्धान गर्न अर्थ मन्त्रालयले एक अन्तरनिकायगत छानबिन समिति गठन गरेको छ।
विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले उक्त समितिको संयोजकमा नीति तथा मूल्याङ्कन शाखा प्रमुख भुपालराज शाक्य रहेको र समितिमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरू पनि सहभागी हुने जानकारी दिए।
जेठ १५ गते सरकारले ल्याएको बजेटमार्फत महँगा सवारी साधनमा लाग्ने करमा वृद्धि गरिएको थियो, जसले केही गाडीको भन्सार मूल्य दोब्बरसम्म पुर्याएको थियो।
पुरानै प्रणाली अनुसार भन्सार जाँचपास गराएर मूल्य छलेको विषयमा छानबिन गर्न गठित समितिले यसैबीच फिल्डमा काम सुरु गरिसकेको विभागले जनाएको छ।
