रसुवा जिल्लाका बाढी प्रभावित सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम रसुवाका स्थानीय तहहरूलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए। यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ। बाढीले भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन्।
बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको विवरण प्राप्त भएको छ। मन्त्री खनालले संसदलाई यस घटनाबारे जानकारी गराएका हुन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ मा विपद् संकटग्रस्त क्षेत्र घोषणासम्बन्धी व्यवस्था छ। यसको उपदफा १ अनुसार नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सिमाना र अवधि तोकी संकटग्रस्त क्षेत्र घोषणा गर्न सक्नेछ।
आवश्यकताअनुसार सरकारले यो अवधि बढाउन पनि सक्नेछ। संकटग्रस्त क्षेत्र घोषणाको सूचना राष्ट्रिय सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गरिनेछ।
