रौतहटको गरुडा नगरपालिका-७ भिमडावरमा तीन घरमा चोरी भएको छ। अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ। शुक्रबार बिहान करिब ९:३० बजे यो घटना भएको थियो।
स्थानीय दयाराम साहको घरको पछाडिको ढोकाको आग्लो भाँचेर चोरले तीन थान मोबाइल (रेडमी, ओपो, रियलमी) चोरे। मनोज साहको घरबाट छतको ढोकाको आग्लो खोलेर दराजमा राखिएको करिब ५ हजार रुपैयाँ चोरी भयो। रामाज्ञा साहको घरमा माथिल्लो ढोकाबाट प्रवेश गरी टिनको बाकसभित्रको पर्सबाट ८ हजार रुपैयाँ र एक थान भिभो मोबाइल चोरी भएको छ।
तीनवटै घरमा चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर उज्जवल क्षेत्रीको टोली परिचालन भयो। अनुसन्धानका क्रममा प्रहरीले दयाराम साहको घरको बरण्डामा राखिएको खाटबाट लाइभ राउण्ड लोड भएको कटुवा पेस्तोल फेला पार्यो।
रौतहट प्रहरी प्रमुख एसपी सीताराम रिजालले बेवारिसे अवस्थामा हतियार बरामद भएको पुष्टि गरे। प्रहरीले पेस्तोल बरामद गरी चोरी र हतियारसम्बन्धी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। हालसम्म कोही पक्राउ परेका छैनन्।
