पाकिस्तानले हवाई क्षेत्र प्रयोग गर्न अनुमति नदिएपछि बंगलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रको दोस्रो एकाइका लागि निर्धारित इन्धन ढुवानी रोकिएको छ।
ढाकास्थित पाकिस्तानी उच्च आयोगले हवाई उडान मार्ग र हवाई क्षेत्र प्रयोगको अनुमति प्राविधिक तथा प्रक्रियागत विषय भएको जनाएको छ। आयोगले यो घटनालाई द्विपक्षीय सम्बन्धमा असर पार्ने विषयका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ।
रूपपुर आणविक ऊर्जा केन्द्रको दोस्रो एकाइका लागि सेप्टेम्बर २४ मा इन्धन बङ्गलादेश पुग्ने तय भएको थियो। पाकिस्तानले अनुमति नदिएपछि रुसी पक्षले इन्धन अक्टोबरको पहिलो साता बङ्गलादेश पुग्ने नयाँ समयतालिका दिएको छ। बङ्गलादेशका विज्ञान तथा प्रविधिमन्त्री फकीर महबूब अनमले अनुमति नदिनुको वास्तविक कारण अझै स्पष्ट नभएको बताए।
बङ्गलादेशको विज्ञान तथा प्रविधि मन्त्रालयका संयुक्त सचिव शेख मोहम्मद तौहिदुल इस्लामका अनुसार विमानस्थलमा इन्धन ढुवानीका लागि तयारी पूरा भइसकेको थियो। रुसी सरकारी आणविक ऊर्जा निगम रोसाटमका सम्पर्क अधिकारीले हवाई क्षेत्रसम्बन्धी विषय स्पष्ट नभएको जानकारी गराएपछि ढुवानी पुनःनिर्धारण गर्नुपरेको हो।
रोसाटमको सहयोगमा निर्माण भइरहेको रूपपुर बङ्गलादेशको पहिलो आणविक ऊर्जा केन्द्र हो। यसमा तेस्रो पुस्ताका दुई भिभिइआर–१२०० रिएक्टर निर्माण भइरहेका छन्। दुवै रिएक्टरबाट कुल दुई हजार चार सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
यसअघि पहिलो एकाइका लागि इन्धनको पहिलो खेप रुसबाट बङ्गलादेश पुगेपछि बङ्गलादेशले आणविक ऊर्जा उत्पादनतर्फ औपचारिक प्रवेश गरेको थियो।
