सिरहाको हुलाकी सडकखण्डमा प्रहरीले ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद गरेको छ। चोहर्वाबाट सिरहातर्फ गाँजा लोड गरेर ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले एम्बुलेन्सलाई पिछा गरेको थियो।
सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि चालकले प्रहरी देखेर एम्बुलेन्स छाडी फरार भएका हुन्। प्रहरी निरीक्षक नरेश लिम्बूका अनुसार एम्बुलेन्स जाँच गर्दा पाँचवटा जुटका बोरामा १०५ किलो गाँजा फेला परेको थियो।
बरामद गाँजा र नियन्त्रणमा लिइएको एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। प्रहरी निरीक्षक लिम्बूले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। फरार चालकको पहिचान र खोजी कार्य जारी छ।
प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा खटिएको टोलीले मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको एम्बुलेन्समाथि निगरानी राखेको थियो। प्रहरीका अनुसार एम्बुलेन्स चालकले चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएका प्रहरी ब्यारेक तोडेर भागेका थिए।
एसपी बासुदेव पाठकले बरामद गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको छ।
