NM Khabar 7 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध प्रहरीको कडा कदम, ८३ सामग्री हटाइयो

विपद्को संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री फैलाउनेविरुद्ध नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ। हालसम्म १७३ वटा सामग्री पहिचान गरिएकामा ८३ वटा हटाइएको छ। यस कार्यका लागि साइबर ब्युरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ।
Rohan Tamang
Rohan Tamang
7 September 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
सामाजिक सञ्जालमा अफवाह
Share:

विपद्को संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री फैलाउनेविरुद्ध नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ। बाढी तथा अन्य विपद्का घटनासँग सम्बन्धित भ्रामक सामग्री प्रसारण गरी त्रास फैलाउने र पीडितलाई थप मानसिक पीडा दिने गतिविधि नियन्त्रण गर्न प्रहरीले सामाजिक सञ्जालमा निगरानी बढाएको हो।

प्रहरीका अनुसार हालसम्म फेसबुकमा १६८, टिकटकमा ४ र इन्स्टाग्राममा १ गरी कुल १७३ वटा गलत सूचना तथा अफवाह फैलाउने सामग्री फेला परेका छन्। तीमध्ये प्रहरीको साइबर सक्रियतापछि फेसबुकका ७९ र टिकटकका ४ गरी ८३ वटा सामग्री हटाइसकिएको छ।

सामाजिक सञ्जालमा फैलिने यस्ता सामग्रीको अनुगमन तथा नियन्त्रणका लागि साइबर ब्युरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय विशेष समिति गठन गरिएको छ। समितिले प्रहरीका अन्य निकाय तथा सरोकारवालासँग समन्वय गरी गलत सूचना तथा अफवाह फैलाउने सामग्रीको पहिचान, नियन्त्रण र आवश्यक कानुनी कारबाही अघि बढाउनेछ।

यसैबीच, सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति भिडियो सामग्री प्रसारण गर्ने २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका छन्। उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बलम्बुबाट पक्राउ गरेको हो। मडैले भोटेकोशी बाढीबाट भएको क्षतिबारे विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो फेसबुक रिलमा प्रसारण गरेका थिए।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार यस्ता विभत्स सामग्री पोस्ट गरी जनमानसमा त्रास फैलाउने र सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी सचेत छ।

समितिको काम कारबाहीबारे प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यले गलत सूचना, अफवाह र भ्रामक समाचार प्रसारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति क्रियाशील रहेको बताए। उनले अन्जानमा पोस्ट वा सेयर भएका सामग्रीको गाम्भीर्यता हेरी सचेत गराई हटाउन लगाइएको जानकारी दिए।

प्रहरीले विपद्का बेला अपुष्ट सूचना तथा संवेदनशील तस्बिर–भिडियो सामाजिक सञ्जालमा प्रसारण नगर्न सचेत गराएको छ। विपद्को नाममा हुनसक्ने अपराध, गलत सूचना र राहत संकलनको नाममा ठगी नियन्त्रण गर्न पनि नेपाल प्रहरी सक्रिय छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार