नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सबैलाई आग्रह गरेको छ। बढी भाडा लिने सवारीसाधनलाई तत्काल कारबाही गरिने महासङ्घले चेतावनी दिएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही गरिनेछ। सरकारले यस वर्षको दशैँका लागि असोज २३ गतेदेखि देशभर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।
यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ-सङ्गठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो। काठमाडौँ उपत्यकाका प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ।
महासङ्घले आफ्ना सात प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ-संस्था र काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्न र सुरक्षित यात्राको सुनिश्चितता गर्न पनि निर्देशन दिइएको छ।
दशैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने कुनै रोक लाग्ने छैन।
घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहनेछ।
यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइनेछ।
मधेस प्रदेशमा दशैँ र तिहारका लागि अपराध, तस्करी, दुर्घटना रोकथाम र भीड व्यवस्थापन गर्न ७ हजार २२९ प्रहरी परिचालन गरिनेछ। खुला सीमानाबाट हुने तस्करी र अवैध सामान ढुवानी नियन्त्रणमा विशेष ध्यान दिइनेछ।
यसअघि: चाडपर्वका लागि ५० हजार प्रहरी परिचालन, सवारीमा मेकानिकल टेस्ट रिपोर्ट अनिवार्य
