टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अर्का अधिकारी अफेक मोस्कोभिचविरुद्ध ‘नरसंहार’ को अभियोगमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी (इन्टरपोल रेड नोटिस अलर्ट) जारी गर्न माग गरेको छ। टर्कीका न्यायमन्त्री आकिन गुर्लेकले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका हुन्।
यो माग गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोपसँग सम्बन्धित छ। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको इजरायल–गाजा युद्धको टर्की कडा आलोचक बन्दै आएको छ। राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार नेतन्याहुलाई ‘नरसंहार’ को आरोप लगाउँदै आएका छन्।
मे महिनामा करिब ४३० मानवीय सहायता अभियानकर्मी बोकेको समूहलाई इजरायलले रोकेको घटनाले अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको थियो। यस विषयमा फ्रान्स, इटाली र अस्ट्रेलियाले पनि न्यायिक प्रक्रिया सुरु गरिसकेका छन्।
न्याय मन्त्रालयले गृहमन्त्रालयलाई नेतन्याहु र मोस्कोभिचविरुद्ध ‘इन्टरपोल रेड नोटिस अलर्ट’ जारी गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय जलक्षेत्रमा मानवीय सहायताकर्मीमाथि भएको आक्रमणसम्बन्धी न्यायिक कारबाहीको भागका रूपमा यो अनुरोध गरिएको हो।
नेतन्याहु र मोस्कोभिचमाथि ‘मानवताविरुद्धका अपराध, नरसंहार, गम्भीर स्वतन्त्रता हनन, जानीजानी आक्रमण र कुटपिट, यातना, सम्पत्ति विनाश, गम्भीर लुटपाट र यातायात साधन अपहरण’ जस्ता अभियोगमा मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ।
मे महिनामा ‘ग्लोबल सुमुद फ्लोटिला’ नामक अभियानमा टर्कीबाट आएका मानवीय सहायताकर्मीहरूलाई भूमध्यसागरमा इजरायली सेनाले हिरासतमा लिई इजरायली जेल पुर्याएर देश निकाला गरिएको थियो। यस घटनाले थप विवाद सिर्जना गरेको छ।
