अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको थियो। चालू आवको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँ थियो।
यो बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ। बजेट निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकारको १०० बुँदे कार्ययोजना र विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा आधारित हुनेछ। सांसदहरूले दिएका सुझाव र सरकारको सुशासनको मार्गचित्रलाई पनि बजेटमा समावेश गरिएको छ।
नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ। यस वर्ष पनि अपराह्न ४:०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
