रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारका परिवारलाई नेपाल विद्युत प्राधिकरणले राहत प्याकेज घोषणा गरेको छ। बाढीले १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदार बेपत्ता छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी र कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार, राहतको पहिलो चरणमा बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति व्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।
दोस्रो चरणमा स्थायी कर्मचारीका नजिकका हकवालालाई ६ महिनासम्म बेपत्ता कर्मचारीको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराइनेछ। यो रकम भदौ महिनादेखि लागू हुने गरी व्यवस्था गरिएको छ।
बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी र कामदारका परिवार सरकारको जिम्मेवारी भएको बताए। उनले भने, ‘हामी एउटै परिवार हो। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्।’
