मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै नेकपा (एमाले)का सांसद मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन्।
जसपाका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई मुख्यमन्त्री यादवले राजीनामा दिन भनेका थिए। राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको हो। बाराबाट निर्वाचित सांसद समिरले प्रदेश प्रमुख सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदलका लागि राजीनामा दिन भनेका थिए। तर, जसपाले सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्यो। यसअघि जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिइसकेका छन्। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेशमा सत्ता समीकरण फेरबदल भएको हो।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपूर्व नै एमाले सरकारमा सहभागी भएको हो। उनले आजै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
नयाँ सत्ता समीकरण अनुसार अब मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस, एमाले र मुख्यमन्त्री यादव नेतृत्वको दलको सरकार बनेको छ। तीन दलले मुख्यमन्त्री यादवलाई निरन्तरता दिँदै सरकारलाई अघि बढाउने निर्णय गरेका हुन्।
