नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ । बैठकले पार्टीका नेताहरूको स्थायी कार्यविभाजनलाई अन्तिम रूप दिनेछ ।
जेठ ५ गते अध्यक्ष ओलीले प्रस्ताव गरेको कार्यविभाजन सम्बन्धी प्रस्तावलाई आजको बैठकबाट परिमार्जनसहित अनुमोदन गर्ने तयारी छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक गुण्डुमा बस्ने तय भएको छ ।
बैठकमा अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विषयमाथि विस्तृत छलफल गरिनेछ । यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाइनेछ ।
गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न भएको पार्टीको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो । त्यतिबेला फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गरेर जिम्मेवारी तोकिएको थियो । यस पटक स्थायी रूपमा कार्यविभाजन गर्न लागिएको हो ।
नयाँ कार्यविभाजनमा मुख्य विभागहरूको जिम्मेवारीमा हेरफेरको प्रस्ताव गरिएको छ । पार्टी सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय विभाग र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव छ ।
उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभागहरूको समन्वय र अनुगमन गर्ने जिम्मेवारी सुम्पिने तयारी छ । अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यहरूलाई ‘मिसन स्थानीय चुनाव’ को कार्यभारसहित जिम्मेवारी तोकिएको छ ।
