पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मटराबाट सशस्त्र प्रहरीले १४ लाख १६ हजार रुपैयाँ मूल्यको अवैध खरबुजाको बियाँ बरामद गरेको छ। बिहीबार बिहान एक खाली टहरामा ठूलो परिमाणमा सो बियाँ लुकाइराखेको अवस्थामा फेला परेको हो।
सशस्त्र प्रहरी बल नं. २६ गण मुख्यालय पश्चिम नवलपरासीका अनुसार बाबुराम पालको खाली टहरामा अवैध सामान लुकाइएको सूचना पाएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माको नेतृत्वमा टोली खटिएको थियो।
गुठीप्रसौनीस्थित बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीले टहरा खानतलासी गर्दा ११८ बोरामा ४ हजार ७२० केजी खरबुजाको बियाँ बरामद गरेको छ।
बरामद बियाँको अनुमानित बजार मूल्य १४ लाख १६ हजार रुपैयाँ छ। बरामद सामान आवश्यक कानुनी प्रक्रियाका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।
