कैलालीको टीकापुरमा दौडका क्रममा सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन्। उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन्।
बेहोस हुनेहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर ५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ।
टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमका क्रममा उनीहरू बेहोस भएका हुन्।
खबरहबका अनुसार, उनीहरू नियमित दौडका क्रममा बेहोस भएका थिए। सुरुमा टीकापुर अस्पताल लगिए पनि ‘हिट स्ट्रोक’का कारण अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं पठाइँदैछ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं लैजाँदैछ। तराई मधेशका जिल्लामा अत्यधिक गर्मी छ। तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।
