पश्चिम नेपालका तराई क्षेत्रमा केही दिनयता चलेको ‘लु’ (तातो हावाको लहर) ले जनजीवनलाई निकै कष्टकर बनाएको छ। अत्यधिक गर्मीका कारण सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत मुस्किल भएको छ।
नेपालगन्ज, भैरहवा, धनगढी, बर्दिया, दाङ, कैलालीलगायतका जिल्लामा बिहानैदेखि तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित बनेको हो। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो हावाको लहर चल्ने पूर्वसूचना जारी गरेको थियो।
महाशाखाका अनुसार पश्चिम तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने र वर्षाको सम्भावना न्यून रहेकाले तापक्रम अझै बढ्ने देखिएको छ। नेपालगन्ज, धनगढी र दिपायलमा अधिकतम तापक्रम ३९ देखि ४४ डिग्री सेल्सियससम्म पुगेको छ भने वीरेन्द्रनगरमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुगेको थियो।
अत्यधिक गर्मीका कारण दिउँसो सडक तथा बजार क्षेत्रमा चहलपहल घटेको छ। नेपालगन्जका मुख्य सडकहरू दिउँसो सुनसान देखिन थालेका छन्। सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन छाडेका छन्। स्थानीयका अनुसार बिहान ९–१० बजेदेखि नै घाम सहन नसक्ने र दिउँसो तातो हावा चल्दा सडकमा हिँड्नै गाह्रो हुने गरेको छ।
गर्मीका कारण वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीले डिहाइड्रेसन, ज्वरो, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी हुने तथा ‘हीट स्ट्रोक’ का बिरामी बढेका छन्। शरीरमा पानीको मात्रा घट्दा गम्भीर स्वास्थ्य समस्या हुन सक्ने भएकाले पर्याप्त पानी पिउन चिकित्सकहरूले सुझाव दिएका छन्।
दिउँसोको समयमा लामो समय घाममा बस्दा शरीरको तापक्रम असन्तुलित भई बेहोस हुने, रक्तचाप घट्ने तथा ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन्।
भारतको उत्तर प्रदेश तथा राजस्थान क्षेत्रबाट आएको तातो हावाको प्रभावले पश्चिम तराईमा ‘हिट वेभ’ को अवस्था बनेको मौसमविद्हरूले बताएका छन्। वर्षा नहुँदा र आकाश खुला रहँदा तापक्रम झन् बढिरहेको छ।
गर्मी बढेसँगै विद्युत् खपत पनि बढेको छ। पंखा, कुलर, एसी तथा पानी तान्ने मोटरको प्रयोग बढेपछि नेपालगन्जलगायतका क्षेत्रमा विद्युत् आपूर्तिमा दबाब परेको छ। कतिपय स्थानमा पटकपटक विद्युत् जाने समस्या देखिएको छ।
यस्तै, अत्यधिक गर्मीका कारण व्यापारसमेत प्रभावित भएको छ। बजारमा ग्राहकको संख्या घट्दा व्यापार कमजोर बनेको व्यवसायीहरूको भनाइ छ। कृषि क्षेत्रमा पनि गर्मीको असर देखिन थालेको छ। लामो समयदेखि वर्षा नहुँदा खेतबारी सुक्न थालेका छन् भने तरकारी खेती प्रभावित भएको छ। बाँके र कैलालीका किसानहरूका अनुसार गर्मीले पशुचौपायामा समेत असर परेको छ। गाईभैंसीले कम दूध दिन थालेका छन् भने कुखुरा तथा बाख्रामा समेत स्वास्थ्य समस्या देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। दिउँसो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र लामो समय घाममा नबस्न सुझाव दिइएको छ। बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
आगामी केही दिन पश्चिम तराईमा गर्मी अझै बढ्न सक्ने सम्भावना रहेको छ। तत्काल वर्षाको सम्भावना कम रहेकाले तातो हावाको प्रभाव कायम रहने अनुमान गरिएको छ।
