अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर शनिबार साँझ गोली चलेको छ। यस घटनामा एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन्। घटनाका समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए तर उनी पूर्णतया सुरक्षित रहेको बताइएको छ।
स्थानीय समय अनुसार शनिबार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको हो। अमेरिकी सिक्रेट सर्भिसले जारी गरेको विज्ञप्ति अनुसार, ती व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर जथाभाबी गोली चलाउन सुरु गरेका थिए।
ड्युटीमा रहेका सिक्रेट सर्भिसका प्रहरी एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दै संदिग्धमाथि गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका ती बन्दुकधारीलाई तत्कालै अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा १५ देखि ३० राउन्ड गोली चलेको आवाज सुनिएको थियो।
गोलीबारीको आवाज सुन्नासाथ ह्वाइट हाउस परिसरमा रहेका दर्जनौं पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा ‘प्रेस ब्रिफिङ रुम’ भित्र लगेका थिए। त्यसपछि ह्वाइट हाउसलाई पूर्णरूपमा लकडाउन गरिएको थियो। घटनाको करिब एक घण्टापछि मात्र लकडाउन खोलिएको थियो।
सिक्रेट सर्भिसका अनुसार घटनाको समयमा राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमै थिए। तर, यो घटनाबाट राष्ट्रपति वा अन्य कुनै विशिष्ट व्यक्तिको सुरक्षामा कुनै आँच नआएको र ह्वाइट हाउसको कार्यसञ्चालनमा कुनै असर नपरेको जनाइएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बन्दुकधारीले एक्लै गुप्तचर एजेन्टहरूलाई लक्षित गरी आक्रमणको प्रयास गरेका थिए। घटनामा एक सर्वसाधारण पनि घाइते भएको खबर छ, तर उनलाई लागेको गोली कसले चलाएको थियो भन्ने स्पष्ट नभएको बताइएको छ।
सिक्रेट सर्भिस र स्थानीय प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छन्। बन्दुकधारीको पहिचान र उनको उद्देश्यबारे थप विवरण आउन बाँकी छ। एक कानून कार्यान्वयन अधिकारीले ती संदिग्ध मानसिक रूपमा अस्थिर व्यक्ति रहेको र उनीविरुद्ध यसअघि ‘स्टे-अवे अर्डर’समेत जारी गरिएको हुनसक्ने बताएका छन्।
यसअघि पनि ह्वाइट हाउसमै पत्रकारहरुका लागि आयोजना गरिएको डिनरमा र चुनावी र्यालीमा पनि बन्दुकधारीले गोली चलाएको घटना सार्वजनिक भएको थियो, जसका कारण यस क्षेत्रको सुरक्षा संवेदनशीलता झन् बढेको छ।
