रामेछापको मुटुमा १५ करोडको सरकारी जग्गा माफियाले कब्जा गरेको खुलासा भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेका स्वास्थ्य शिविरहरूमा नसर्ने रोगका बिरामीहरूको ठूलो संख्या देखिएको छ। पहिले धनीलाई मात्र लाग्ने भनिएका यस्ता रोगहरू अब गाउँघरमा पनि व्यापक बन्दै गएको पाइएको छ।
उच्च रक्तचाप र मधुमेहका बिरामीहरूको संख्या अत्यधिक रहेको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए। शिविरमा जाँच गरिएका ५० जनामध्ये कम्तीमा ५ जनामा उच्च रक्तचाप र मधुमेहको समस्या अत्यन्त बढी देखिएको कार्कीले बताए। तीमध्ये अधिकांशले यसअघि जाँच नगरेको वा औषधि नखाएको पाइनुले अवस्था थप जटिल बनेको छ।
चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँका अनुसार कतिपय मानिसमा खाना खाएपछि रगतमा चिनीको मात्रा ५०० मिलिग्राम/डीएल भन्दा बढी पाइएको छ। सामान्यतया खानापछि चिनीको स्तर १४० मिलिग्राम/डीएल भन्दा कम हुनुपर्छ।
केही दिनअघि खाँडादेवी गाउँपालिका–४ रजगाउँमा आयोजित शिविरमा एकजनामा ५२४ मिलिग्राम/डीएल चिनीको मात्रा देखिएको थियो। अन्य केहीमा पनि ४०० भन्दा बढी चिनीको मात्रा पाइएको चापागाईँले जानकारी दिए।
मधुमेहको समयमै उपचार नगर्दा यसले आँखा, नसा, मुटु र मिर्गौलामा गम्भीर असर पुर्याउन सक्ने चिकित्सालयका डा. उत्तम गरैले बताए। नसा फुट्ने, हृदयाघात र मिर्गौला फेल हुने जोखिम पनि यसले बढाउँछ।
ग्रामीण बस्तीमा उच्च रक्तचापको समस्या पनि अधिक देखिएको छ। सामान्य १२०/८० एमएम एचजी हुनुपर्ने रक्तचाप कतिपयमा १८०/१३० एमएम एचजीसम्म भेटिएको चिकित्सालयले जनाएको छ। बढेको रक्तचाप भएका कतिपयले हालसम्म औषधि नखाएको र औषधि खाइरहेकाहरूको समेत रक्तचाप नियन्त्रणमा नआएको पाइएको छ।
उच्च रक्तचापले हृदयाघात, मस्तिष्कघात र मिर्गौलाको समस्या जस्ता गम्भीर रोगहरूको जोखिम बढाउँछ। जाँचका क्रममा युरिक एसिड, नसा, जोर्नी दुख्ने तथा छाला र ग्यास्ट्रिकका बिरामीहरू पनि ग्रामीण भेगमा धेरै पाइएका छन्। यी समस्या युवादेखि ज्येष्ठ नागरिकसम्ममा देखिएको छ।
खानपानमा ध्यान नदिने, शारीरिक अभ्यास घट्दै जानु, कृत्रिम पेय पदार्थको अधिक सेवन, तनाव लगायतका कारणले यस्ता रोग बढ्दै गएको चिकित्सालयकी डा. सविता भण्डारीले बताइन्। यसको निदानका लागि खानपान र जीवनशैली व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ।
