प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार बिहान ११:३० बजे नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने यस संवादमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइनेछ। द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले यो जानकारी दिएकी हुन्।
यसैबीच, सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाह आवश्यकताअनुसार मात्र सम्बोधन गर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने प्रश्नमा मन्त्री पोखरेलले मन्त्रिपरिषद्मा यस विषयमा छलफल नभएको तर आवश्यकताअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने स्पष्ट पारे।
प्रवक्ता पोखरेलका अनुसार सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण र पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा अत्यधिक व्यस्त छ। प्रधानमन्त्रीले उचित समय र आवश्यकताअनुसार आफ्ना धारणा सार्वजनिक गर्ने उनले बताए।
