NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ग्यालेक्सी ४केका सामान लिलाम हुने: १५ दिनभित्र बहाल बुझाउन महानगरको अन्तिम सूचना

काठमाडौं महानगरपालिकाले ग्यालेक्सी ४के टेलिभिजनलाई १५ दिनभित्र घरबहाल बुझाउन अल्टिमेटम दिएको छ। नबुझाएमा घरजग्गा खाली गराउने क्रममा छोडिएका टेलिभिजनका सरसामान लिलाम गरिनेछ। सहकारी ठगी प्रकरणमा मुछिएका अध्यक्ष जीबी राई फरार छन्।
Arjun Basnet
Arjun Basnet
26 May 2026, 10:32 am १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी ४के टेलिभिजनलाई १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई सामान लैजान अन्तिम सूचना जारी गरेको छ। तोकिएको समयभित्र सामान नहटाए लिलाम प्रक्रिया अगाडि बढाउने चेतावनी महानगरले दिएको छ।

महानगरपालिका–३ स्थित घरधनी मृगेन्द्रप्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध घरजग्गा खाली गराई भाडा असुल गरिपाऊँ भनी मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा महानगरको न्यायिक समितिले २०८१ साल कात्तिकमा घरजग्गा खाली गराउने र बहाल रकम तथा बहाल कर गोरखा मिडियाबाट भराउने निर्णय गरेको थियो।

महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साल साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरको नाममा परमादेश जारी गरेको थियो। अदालतको आदेशपछि २०८२ साल कात्तिक १४ गते महानगरले घरजग्गा खाली गराए पनि ग्यालेक्सी ४के टेलिभिजनका सरसामानहरू सोही स्थानमा छन्।

अदालतको आदेशपछि पनि सरसामान नहटाइएपछि घरधनी मिश्रले गत वैशाख २१ गते सामानहरू लिलाम गरिपाऊँ भनी महानगरमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा महानगरले अन्तिम सूचना सार्वजनिक गरेको हो।

तोकिएको १५ दिनको समयमा पनि सामान नहटाए काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम सामानहरू लिलाम गरिने महानगरले जनाएको छ।

गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी ४के टेलिभिजन लामो समयदेखि बन्द छ। सहकारी ठगी प्रकरणमा मुछिएका अध्यक्ष जीबी राई फरार छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार