पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्ड निर्माण असार १५ सम्ममा सम्पन्न नहुने भएको छ। पाँच वर्षअघि सुरु भएको यो आयोजना पटकपटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन।
तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८.७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डमा पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गरी आगामी असार १५ गतेसम्म पुर्याइएको थियो। तर, पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको हो।
आयोजनाले पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि र पछिल्लो समयमा परेको लगातारको वर्षालाई निर्माण प्रभावित हुनुको कारण बताएको छ। मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यकबाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाएको छ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म आयोजनाको ७८ प्रतिशत भौतिक प्रगति भएको छ। पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७.२८ किलोमिटर सम्पन्न भएको छ।
आयोजनाअन्तर्गत २०.५५ किलोमिटर चार लेन सडक र १८.१६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ। योजना प्रमुख कुँवरले इन्धन अभावले निर्माणमा प्रत्यक्ष असर पारेको बताए। ‘निर्माण कम्पनीलाई दैनिक चार हजार लिटर डिजेल आवश्यक पर्छ, तर अहिले एक हजार ५०० लिटर मात्र उपलब्ध भइरहेको छ। निर्माण सामग्रीको मूल्यसमेत अत्यधिक बढेकाले काम प्रभावित भएको छ। यसले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन भएको छ,’ उनले भने।
योजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन निर्माण, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट र ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडानको काम भइरहेको छ। एसियाली विकास बैंक (एडिबी) को लगानीमा सञ्चालित यस आयोजनाअन्तर्गत पश्चिम खण्ड निर्माणका लागि चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको थियो।
उक्त खण्डको निर्माण सम्झौता २०७८ जेठ २ गते भएको थियो भने २०७८ भदौ १२ गतेदेखि निर्माण कार्य सुरु गरिएको थियो।
