अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
दार्चुलाबाट जुम्ला जाँदै गरेको सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका मकवानपुरका नवीन तुलाधर र बर्दियाका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
घाइते सिराहाका सन्तकुमार साह, स्याङ्जाका अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्जका राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ।
घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दैलेखको राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो। प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो।
