NM Khabar 2 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेसका निलम्बित सांसद सिंहलाई ४ वर्ष १ महिना कैद, ३८ लाख जरिवाना

मधेस प्रदेशका निलम्बित सांसद सरोज कुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार जरिवानाको फैसला सुनाएको छ। उपभोक्ता समितिबाट घुस लिएको रकम हिनामिना गरेको अभियोग पुष्टि भएको छ।
Arjun Basnet
Arjun Basnet
2 June 2026, 5:47 pm १ मिनेट पढाइ
आकार:
सरोज कुमार सिंह भ्रष्टाचार
Share:

मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले यो फैसला गरेको हो।

अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’ मा जम्मा गर्न आदेश दिएको छ। घुस बापत लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गरिनेछ।

महोत्तरी क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट कुल ३८ लाख ५० हजार १३९ रुपैयाँ घुस लिएको पुष्टि भएको छ। प्रतिवादी सिंहले रकम लिएको सम्बन्धमा विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको ‘बिगो’ कायम गरेको हो।

सिंहले स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत उपभोक्ता समितिको खाताबाट रकम झिकाएका थिए। ती रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोगमा उनीमाथि मुद्दा चलेको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार