NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिंगापुरको विकास मोडेल: कांग्रेसको ‘ग्रीन टेबल’मा सुशासन र नवप्रवर्तनको बहस

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ कार्यक्रममा सिंगापुरका नीति विश्लेषक लियोंग सी हियानले नेपालका लागि सुशासन र नवप्रवर्तनमा जोड दिँदै विकास मोडेलबारे प्रस्तुति दिए। उनले सिंगापुरको आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका सफल अभ्यासहरूबारे चर्चा गरे।
Sarita Pandey
Sarita Pandey
4 June 2026, 9:17 pm १ मिनेट पढाइ
आकार:
सिंगापुर विकास मोडेल
Share:

सिंगापुरको विकास मोडेल: कांग्रेसको ‘ग्रीन टेबल’मा सुशासन र नवप्रवर्तनको बहस

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल भयो। ‘ग्रीन टेबल’ कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक लियोंग सी हियान प्रमुख वक्ता थिए।

कार्यक्रममा पार्टी सभापति गगन थापा, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा युवाहरूको सहभागिता थियो। हियानले सिंगापुरको आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका सफल अभ्यासहरू प्रस्तुत गरे।

उनले आर्थिक समृद्धि, प्रभावकारी शासन, संस्थागत विकास तथा नागरिक केन्द्रित नीतिनिर्माणका लागि नेपालले सिंगापुरबाट सिक्न सक्ने पाठबारे बोले। हियानले सिंगापुर आर्थिक रूपमा समृद्ध भए पनि सामाजिक सूचकहरूमा चुनौती रहेको उल्लेख गरे। विकासको अन्तिम लक्ष्य नागरिकलाई खुसी बनाउनु हुनुपर्नेमा उनले जोड दिए।

भ्रष्टाचारविरुद्ध कडा कानुन कार्यान्वयन, मेरिट प्रणाली, नवप्रवर्तनलाई प्रोत्साहन तथा दीर्घकालीन नीतिगत स्थिरताले सिंगापुरलाई छोटो अवधिमै आर्थिक प्रगति दिलाएको हियानले बताए। नेपालका लागि उनले सुशासनमा कठोरता र प्रतिबद्धता आवश्यक रहेको औंल्याए। कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि र नवप्रवर्तनमा केन्द्रित नीति अवलम्बन गर्न उनले सुझाव दिए।

सहभागीहरूले नेपालको वर्तमान अवस्था र विकासका चुनौतीबारे प्रश्न सोधे। हियानले ती प्रश्नहरूको उत्तर नेपालकै सन्दर्भमा दिए।

सभापति थापाले हियानलाई ढाका टोपी, खादा र मायाको चिनो प्रदान गरे। थापाले सुशासन नै समुन्नतिको आधार भएको र सिंगापुरको अनुभवबाट नेपालले सिक्न सक्ने बताए।

थापाले विगतदेखि सिंगापुरबारे सुन्दै आए पनि प्रत्यक्ष संवादबाट उपयोगी जानकारी पाएको उल्लेख गरे। नेपालको नीति निर्माण, सुशासन र समृद्धिका लागि यस्ता छलफल मार्गदर्शक हुने उनको विश्वास थियो।

थापाले वर्तमान सरकारको प्राथमिकता सुशासन रहेको स्मरण गराउँदै कांग्रेस सहयोग गर्न तयार रहेको बताए। तर, सुशासनका लागि सरकारमा रहेका व्यक्तिको व्यवहार र प्रतिबद्धता पनि देखिनुपर्ने उनको भनाइ थियो।

सरकारले गठन गरेको छानबिन समितिलाई कांग्रेसले सहयोग गर्ने र समितिको काम निष्पक्ष हुनुपर्ने धारणा उनले राखे। सिंगापुरमा शीर्ष नेतृत्व र दलहरूले सुशासनको मानक स्थापित गरेकाले वातावरण बनेको उदाहरण दिँदै थापाले नेपालमा पनि नेता र दलहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। ‘मूल नै फोहोर भए जरा सफा हुँदैन। त्यसैले सुशासनका लागि राज्यको मूल मानिने शीर्ष नेता र राजनीतिक दलहरू नै सफा हुनुपर्छ,’ थापाले भने।

मानवअधिकार आयोगको प्रतिवेदनबारे शुक्रबार छलफल

कांग्रेसको ‘ग्रीन टेबल’ छलफल श्रृंखला शुक्रबार पनि जारी रहनेछ। शुक्रबार दिउसो ४ बजे मानवअधिकार आयोगको प्रतिवेदनबारे विज्ञ र सरोकारवालाहरूसँग छलफल हुनेछ। ग्रिन टेवलका संयोजक कञ्चन झाले पार्टी कार्यालयमा भइरहेका यस्ता कार्यक्रमले नेता कार्यकर्ताको बुझाइ फराकिलो बनाएको बताए।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार