मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कालीगण्डकी गर्ज जलविद्युत् आयोजना सुरु: म्याग्दीमा ४० अर्बको लगानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ। चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित करिब रु ४० अर्ब लागत अनुमान गरिएको छ। यस आयोजनाले म्याग्दी जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजनाको रूपमा कीर्तिमान राख्ने भएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
कालीगण्डकी गर्ज जलविद्युत् आयोजना
Share:
२१०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरुङ निर्माण सोमबारदेखि सुरु भएको छ। विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्ने काम थालिएको हो।

कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले प्रवद्र्धन गरेको आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजना निर्देशक रमण सिंहका अनुसार सुरुङ, बाँध र विद्युत्गृह निर्माण चार स्थानबाट अगाडि बढाइनेछ। पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ खनिनेछ।

आयोजनाको बाँध मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरा थाप्लामा बन्नेछ। विद्युत्गृह म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा निर्माण गरिनेछ। ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनामा एक किलोमिटर ‘पेनस्टक’ पाइपलाइन रहनेछ। विद्युत्गृहदेखि ‘आउटलेट’सम्मको उचाइ ४८० मिटर हुनेछ।

आयोजनास्थलमा आवश्यक कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन निर्माण अन्तिम चरणमा छ। आठ किलोमिटर पहुँचमार्ग बनिसकेको छ। गाडपारमा बेलिब्रिज जडानको तयारी छ। घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाको अनुमानित लागत रु ४० अर्ब छ। ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले लगानी गर्नेछन्। वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले यो जानकारी दिए।

प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको अवसर मिलाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले कालीगण्डकी गर्ज म्याग्दीको हालसम्मकै ठूलो जलविद्युत् आयोजना भएको बताए।

नारच्याङ क्षेत्रमा यसअघि १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना (घलेम्दीखोला ५ मेगावाट, म्रिस्तीखोला ४२ मेगावाट, नीलगिरि–१ ३८ मेगावाट, नीलगिरि–२ ७१ मेगावाट, रेलेखोला ६ मेगावाट) सम्पन्न भइसकेका छन्। ६६.३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ। नौ दशमलव १४ मेगावाटको सुपर घलेम्दी जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने तयारी छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार