मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमामा हस्तक्षेप बढ्यो: राप्रपा सांसद गिरी

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढेको र सुस्ताका किसानको अपमान भएको राप्रपा सांसद भरतराज गिरीले आरोप लगाएका छन्। उनले सीमा क्षेत्रका नेपालीको सुरक्षा र राष्ट्रिय स्वाभिमानबारे सरकारको धारणा माग गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पनि प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
सीमा हस्तक्षेप
Share:
१७७

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढेको र सुस्ताका वीर किसानहरूको अपमान भएको राप्रपा सांसद भरतराज गिरीले आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भने, ‘प्रधानमन्त्रीज्यूको विवादास्पद अभिव्यक्तिका कारण आज सीमामा हस्तक्षेप बढेको छ। यसले सीमामा रगत र पसिना बगाएर राष्ट्रियताको वफादारी गरिरहेका सुस्ताका वीर किसानहरूको अपमान भएको छ।’

सांसद गिरीले सुस्तावासीको साहसप्रति सम्मान व्यक्त गर्दै भने, ‘त्यहाँ राज्यको उपस्थिति थिएन, हाम्रा सुरक्षाकर्मी थिएनन्, केवल हाम्रा सोझा हलो जोत्ने किसानहरू थिए। जसले आफ्नो अदम्य साहसले हतियारधारी सैनिकलाई लखेटे र प्रमाणित गरिदिए कि माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम चाहिन्छ।’

यस्तै, सांसद गिरीले नेपाल–भारतबिचको खुला सीमा क्षेत्रमा बस्ने लाखौँ नेपालीहरूको सुरक्षा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारको धारणा माग गरेका छन्। उनले सरकारले आगामी हरेक कूटनीतिक बैठकहरूमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पनि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिपछि सीमामा भारतीय हस्तक्षेप बढेको आशंका व्यक्त गरेका छन्। प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सभामुखको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिनुपर्ने धारणा राखेका थिए। उनले सुस्तामा भारतीय सुरक्षा फौज छिरेर आतङ्कित बनाउने गतिविधिको विरोध गर्दा पक्राउ गरी मुद्दा दायर गर्न लागिएकोमा आपत्ति जनाउँदै विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र कैलालीमा टेम्पो गुल्टाउनेमाथि समेत कारवाहीको माग गरेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार