NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कानेपोखरी ठगी प्रकरण: ११ पीडितद्वारा थप उजुरी, करोडौं हिनामिना

मोरङको कानेपोखरीस्थित सुनचाँदी पसलका सञ्चालकबाट करोडौं ठगिएको आरोपमा थप ११ जना पीडितले प्रशासनमा उजुरी दर्ता गराएका छन्। पीडितहरूमा क्यान्सर रोगीदेखि बाख्रापालक र वृद्धभत्ता जम्मा गर्नेहरू समेत छन्, जसको रकम हिनामिना भएको छ। पीडितको रकम फिर्ता गराउनुको सट्टा 'ऋण असुली समिति'ले उल्टै पीडितहरूसँग पैसा उठाएको आरोप लागेको छ।
Arjun Basnet
Arjun Basnet
16 June 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
कानेपोखरी ठगी प्रकरण
Share:

मोरङको कानेपोखरी–६, रमाइलो बजारस्थित ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल’का सञ्चालकबाट करोडौँ रुपैयाँ ठगिएको भन्दै थप ११ जना पीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा संयुक्त उजुरी दर्ता गराएका छन् । असार १ गते दर्ता भएको उजुरीमा पसल सञ्चालक होमनाथ अधिकारी, श्रीमती बाटुलादेवी, छोराहरू ध्रुव र मनोज तथा बुहारीहरूले सर्वस्व हिनामिना गरेको उल्लेख छ । यसअघि जेठ ७ गते विष्णुमाया गिरीले २९ लाख १७ हजार रुपैयाँ ठगीको जाहेरी दिएकी थिइन् ।

उजुरी दिन पुगेका पीडितहरूको अवस्था दयनीय छ । कसैले जीवनभरिको कमाइ, कसैले रोगको उपचारका लागि साँचेको रकम हिनामिना हुँदा उनीहरू सडकमा पुगेका छन् । दुर्गामाया मंग्रातीले आफू र बुबा वीरबहादुर बयलकोटीको रकम फिर्ता नपाएको बताइन् । ‘मेरो बुबाले वृद्धभत्ता जम्मा गर्नुभएको थियो । पैसाको कुरा गर्दागर्दै उहाँ बित्नुभयो,’ उनले भनिन् ।

क्यान्सर रोगी ७४ वर्षीय नारायण धिमाल नियमित किमोथेरापी गराइरहेका छन् । जम्मा गरेको २ लाख ६५ हजार रुपैयाँ फिर्ता नहुँदा उपचार कसरी गर्ने भन्ने चिन्ता छ । ‘चुरोट–सुर्ती बेचेर कनीकुथी जम्मा गरेको पैसा हो यो । फोक्सोको क्यान्सर भएकाले उपचारका लागि पैसा छैन,’ उनले भनिन् । ‘बीमा पनि बन्द भयो, अब उपचार गर्ने पैसा छैन । हामीलाई हाम्रो पैसा दिलाइदिनु पर्‍यो ।’

गंगाबहादुर गुरुङ र डेगमाया गुरुङले करिब ११ लाख रुपैयाँ पसलमा बचत गरेका थिए । स्थानीय वृद्ध बलमाया गुरुङले बाख्रा र खसी–बोका पालेर, गोबर सोहोर्दै दुःखजिलो गरी १६ लाख ५० हजार रुपैयाँ बचत गरेकी थिइन् । ‘हामी बर्बाद भयौँ,’ उनले भनिन् । दिलमाया धिमालले बहिनीको ४ लाख ६९ हजार ६९७ रुपैयाँ उक्त पसलमा राखेकी थिइन् । बैंकमा राख्दा झन्झटिलो हुने भएकाले सुनपसलमा रकम राखेको उनले बताइन् ।

प्रशासनमा पेस भएको निवेदन अनुसार थप ११ पीडितमा अर्जुन संग्रौला, नारायण धिमाल, हरि पौडेल, दिलमाया धिमाल, छलीमाया संग्रौला, वीरबहादुर बयलकोटी, दुर्गामाया मंग्राती, बख्रेलाल धिमाल, कलवाती गुरुङ, सलबहादुर गुरुङ र गंगाबहादुर गुरुङ–डेगमाया गुरुङ छन् ।

करिब २५० सर्वसाधारणको झन्डै १२ करोड रुपैयाँ हिनामिना गरी सञ्चालक होमनाथ र बाटुलादेवी अमेरिका भाग्ने तयारीमा थिए । स्थानीय स्तरमै घटना दबाउन भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलको नेतृत्वमा ‘ऋण असुली समिति’ गठन गरिएको थियो ।

प्रशासनको अनुसन्धान अनुसार, पौडेलले पीडितहरूलाई कानुनी दायरामा जानबाट रोक्दै मिलाइदिने बहानामा अलमल्याए । सञ्चालक बाटुलादेवीको १ बिघा जग्गा पौडेलले निकटस्थ काशीराज थापाको नाममा पास गराई प्लटिङ गर्न थाले । पौडेलले मुख्य निवेदक विष्णुमाया गिरीलाई ‘तेरो पैसा कुनै हालतमा दिन्नँ, गएर झुण्डिएर मर’ भन्दै धम्की दिएको पीडित बताउँछन् ।

पौडेलसहितको समितिले रकम फिर्ता गराउनुको सट्टा पीडितहरूसँग पैसा उठाएको आरोप छ । पीडित अर्जुन संग्रौलाले आफूहरूसँग डुबेको एक लाख बराबर १ हजार उठाएर समितिले लगेको बताए । ‘पैसा उठाउन भन्दै पीडितहरूसँगै पैसा उठाए । मैले ५ हजार दिएको छु । कसैले १६ हजार, कसैले १० हजार दिएका छन्,’ उनले भने, ‘पैसा फिर्ता गराउनुको साटो हामीसँगै पैसा उठाए । अहिलेसम्म केही पनि भएन ।’

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार