सङ्खुवासभाको खाँदबारी कारागारमा दुई कैदीको हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले सोमबार उक्त फैसला गरेको हो।
उनीहरूलाई मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम जन्मकैद सजाय सुनाइएको छ। संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतकका हकदारलाई क्षतिपूर्ति भराउने अदालतले ठहर गरेको छ।
२०८० साउन २४ गते कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका विनोद तोलाङ्गी र आकाश बलामीको प्रहरी र अन्य कैदीबन्दीको सामूहिक कुटपिटबाट मृत्यु भएको थियो।
जन्मकैद पाउनेमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईसहित सात प्रहरी कर्मचारी छन्।
त्यस्तै, चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको छ।
यसअघि, तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागार चलान गर्न आदेश दिएको थियो।
