प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्रीको उपस्थितिपछि अवरोध हटेर पुनः सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थित हुनुपर्ने विपक्षीको अडानका कारण केहीबेर बैठक स्थगन गरिएको थियो।
सभामुखले बैठक १५ मिनेटका लागि रोकेर मन्त्रीहरूलाई उपस्थित गराउने व्यवस्था मिलाएका थिए। अहिले अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बैठकमा सहभागी छन्।
एमाले सांसद राजेन्द्र राईले ८ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा जम्मा ६ जना मात्र मन्त्री उपस्थित भएको भन्दै विरोध जनाएका थिए। सभामुखले मन्त्रीहरू आउने क्रममा रहेको आश्वासन दिएपछि सदनको कारबाही अघि बढाइएको थियो।
यसअघि विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनै लाग्दा नेकपा सांसद गोपाल शर्माले नियमावलीको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अघि बढाउन नमिल्ने भन्दै ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुखले बैठक स्थगन गरेका थिए।
यसैगरी, सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको विषयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका थिए। उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को व्यवस्थातर्फ सभामुखको ध्यानाकर्षण गराएका थिए, जसमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने उल्लेख छ।
