तीन मौसमी वायु प्रणालीको प्रभावले देशभर चट्याङसहित वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले दिनभरि नै बादल लाग्ने र केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल देखिनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङसहितको वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तातो दिनको अनुभव हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा सामान्य बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको छ।
