रौतहटमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटनाबाट हुने मृत्युदर घटेको छ। यो सुधारले जिल्लाको सवारी व्यवस्थापनमा सकारात्मक संकेत दिएको छ।
रौतहट प्रहरीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो। चालु आर्थिक वर्षको अहिलेसम्म यो संख्या ४८ मा झरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बुधबारको ट्राफिक सप्ताह कार्यक्रममा यो सुधार नियमित जाँच र सडक सुरक्षा व्यवस्था कडा पारिएकाले सम्भव भएको बताए। उनले जनचेतना जगाउने कार्यक्रम महत्त्वपूर्ण रहेको उल्लेख गरे।
भुषालले सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना र अनुशासन अपरिहार्य रहेको बताए। उनले जीउधनको सुरक्षामा समर्पित हुन सुरक्षा संयन्त्रलाई समन्वय र सहकार्यसहित खटिन ध्यानाकर्षण गराए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले अपेक्षाअनुसार परिणाम नआउनुको कारण औँल्याए। भित्री सडकमा हेल्मेट नलगाई द्रूत गतिमा मोटरसाइकल चलाउने प्रवृत्ति कायम छ। क्षमताभन्दा बढी भार बोक्ने र लागू तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने परिपाटी पनि समस्या छ।
थापा मगरले रौतहटमा आठ कार्यालयमा ५० देखि ६० जना ट्राफिक प्रहरी कार्यरत रहेको जानकारी दिए। सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै सरोकारवालासँगको सहकार्यमा ट्राफिक व्यवस्थापन गरिरहेको उनले बताए।
दुर्घटना विश्लेषण गर्दा विद्यार्थी तथा युवा पिँढी सचेत र सजग हुनुपर्ने देखिन्छ। भित्री सडक तथा सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन गुड्नेक्रम यथावत छ। यसले सवारी व्यवस्थापनमा चुनौती थपेको छ।
