प्रशान्त महासागरमा विकसित एल–निनोको प्रभावले यस वर्ष मनसुन आगमनमा ढिलाइ भएको छ। सामान्यतया जुन १३ मा आइपुग्ने मनसुन हालसम्म प्रवेश नगर्नुको मुख्य कारण मौसमी प्रणाली र पश्चिमी वायुको प्रभाव हो।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार एल–निनो बलियो बन्दै गएकाले मनसुन कमजोर भई आगमनमा थप ढिलाइ हुन सक्छ। सन् १९७२, १९८२, १९८३, १९९२, २००९ र २०१९ मा मनसुन जुनको दोस्रो वा तेस्रो साता मात्र नेपाल प्रवेश गरेको थियो।
मनसुन ढिलाइले नेपाली कृषि क्षेत्रमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ। वरिष्ठ कृषि अर्थविज्ञ लालकुमार श्रेष्ठका अनुसार अधिकांश किसान आकाशे पानीमा निर्भर छन्। वर्षा ढिलो वा कम हुँदा धान रोपाइँ प्रभावित भई उत्पादन घट्ने जोखिम छ। जलवायु परिवर्तनअनुकूल खेती प्रणाली अपनाउनुपर्ने आवश्यकता छ।
विभागले यस वर्ष अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशका दक्षिणी भूभागमा ५५ देखि ६५ प्रतिशतसम्म कम वर्षाको सम्भावना छ। देशैभर अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा माथि रहने अनुमान छ। नेपालको वार्षिक वर्षाको करिब ८० प्रतिशत मनसुन अवधिमै हुने भएकाले यो प्रणाली संवेदनशील छ।
नेपालमा सामान्यतया जेठ १८ देखि असोज १४ सम्म मनसुन अवधि रहन्छ। विभागले विश्व तथा क्षेत्रीय जलवायु केन्द्र र अन्तर्राष्ट्रिय मोडेलको विश्लेषणका आधारमा यो आँकलन तयार पारेको हो। कम वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विज्ञहरूले खडेरी सहन सक्ने धानका जात छनोट गर्न सुझाव दिएका छन्। राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले सुक्खा धान–१ देखि ६ सम्मका जात प्रयोग गर्न सिफारिस गरेको छ।
साथै, वर्षाको पानी सङ्कलन, पोखरी तथा जलाशयमा पानी सञ्चित गर्ने, जलवायुमैत्री र पानी बचत गर्ने कृषि प्रविधि अपनाउन पनि सुझाव दिइएको छ। सघन धानखेती (एसआरआई), वैकल्पिक भिजाउने–सुकाउने (एडब्लुडी) तथा सुक्खा–हिले छरुवा धान खेतीजस्ता प्रविधिले कम पानीमा पनि उत्पादन कायम राख्न सहयोग पुग्नेछ।
मौसमविद् सुदर्शन हुमागाईंका अनुसार एल–निनो, इन्डियन ओसन डाइपोल (आइओडी), हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताले यस वर्ष मनसुन कमजोर हुन सक्ने संकेत दिएका छन्। हाल इएनएसओ र आइओडी तटस्थ अवस्थामा रहे पनि एल–निनोको प्रभाव बढ्दै गएको छ। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले पनि बलियो एल–निनो विकसित हुने सम्भावना रहेको जनाएको छ। यसको प्रभावले दक्षिण एसियामा औसतभन्दा कम वर्षा हुन सक्ने अनुमान छ।
एल–निनो प्रशान्त महासागरको मध्य तथा पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्ने प्राकृतिक जलवायु अवस्था हो। यसले वर्षा, तापक्रम र मनसुनी प्रणालीमा व्यापक प्रभाव पार्छ। गत वर्ष नेपालमा मनसुन मे २९ मा भित्रिएको थियो। तर, रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा मधेस प्रदेश खडेरीबाट प्रभावित भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार खडेरीले धान खेतीको क्षेत्रफल र उत्पादन दुवै घटाएको थियो। यस आर्थिक वर्षमा धान उत्पादन अघिल्लो वर्षको तुलनामा करिब ४.२ प्रतिशतले घटेर ५७ लाख मेट्रिकटनमा सीमित हुने अनुमान छ। विज्ञहरूले सम्भावित खडेरी र कम वर्षाको जोखिमलाई ध्यानमा राखी कृषि, जलस्रोत व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
