NM Khabar 5 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गृहमन्त्री गुरुङद्वारा विराटनगरका सरकारी निकाय र सीमा नाकाको अनुगमन

गृहमन्त्री सुधन गुरुङले विराटनगरका सरकारी निकाय, सीमा नाका र विराट राजाको दरबार क्षेत्रको अनुगमन गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयमा एकीकृत सेवा प्रवाह र सीमा नाकामा अवैध कारोबार रोक्न निर्देशन दिए। गृहमन्त्रीले सीमा क्षेत्रमा सीसीटीभी र निगरानी प्रविधिको अभाव पूर्ति गरिने प्रतिबद्धता जनाए।
Laxmi Bhattarai
Laxmi Bhattarai
5 July 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
Share:

गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको विराटनगरमा सरकारी निकाय, सीमा नाका र पुरातात्विक स्थलको स्थलगत अनुगमन गरे। दिनभरको व्यस्ततापछि उनी साँझ धरान प्रस्थान गरे।

विमानस्थलबाट सिधै जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलबाट जिल्लाको वस्तुस्थिति बुझे। उनले पर्याप्त जग्गा रहेकाले एकीकृत सेवा प्रवाह गर्न सके सेवाग्राहीलाई सहज हुने बताए।

उनले विगतका आन्दोलनमा जलेका संरचना र निजी क्षेत्रको सहयोगमा भइरहेको अस्थायी सेवा प्रवाहको निरीक्षण गरे। सेवाग्राहीले झन्झटमुक्त सेवा पाउने गरी कार्यस्थल व्यवस्थापन मिलाउन उनले निर्देशन दिए। ‘एकद्वार प्रणालीबाट प्रवेश गरेका सेवाग्राहीले आफ्नो काम नसकिँदासम्म चारतिर धाउन नपरोस्,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय बाहिर हनुमान मन्दिरमा पूजापाठ र शुभचिन्तकहरूसँग तस्बिर खिचाएपछि उनी कोशी प्रदेश प्रहरी कार्यालय रानी पुगे। त्यहाँ खाजासहितको सुरक्षा ब्रिफिङ लिएपछि उनले नेपाल–भारत सीमा नाका रानी र एकीकृत जाँचचौकी (आईसीपी) को निरीक्षण गरे।

आईसीपी नजिकै रहेको पुरातात्विक स्थल विराट राजाको दरबार क्षेत्रको अवलोकन गरे। सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले खुला सीमा नाकाबाट भइरहेको अवैध कारोबार रोक्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

खुला सीमाका कारण जनशक्ति व्यवस्थापन र बस्ने संरचनाको अभाव रहेको उल्लेख गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको व्यवस्थित आवासको प्रबन्ध मिलाउन जरुरी रहेको बताए।

सीमाबाट हुने अवैध कारोबार रोक्न अन्तर–सरकारी र अन्तर–मन्त्रालय समन्वय आवश्यक रहेको उनको भनाइ थियो। अवैध कारोबार रोकिँदा भन्सार महसुल र राजस्व बढेर राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनले बताए।

सीमा क्षेत्रमा सीसीटीभी र निगरानी प्रविधिको अभाव औँल्याउँदै गृहमन्त्री गुरुङले आगामी साउनदेखि नयाँ बजेट कार्यान्वयनमा आएपछि गृह मन्त्रालयले यसलाई प्राथमिकतामा राखेर सुधार गर्ने प्रतिबद्धता जनाए।

सरकारले तस्करी र गुण्डागर्दीको अन्त्य चाहेको स्पष्ट पार्दै उनले सुशासनका हरेक पक्षमा सकारात्मक छाप देखिनुपर्ने बताए। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार मोरङका विभिन्न कार्यालयहरूको अनुगमन, निरीक्षण र आवश्यक निर्देशनपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ प्रस्थान गरेका हुन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार