महोत्तरीका दुई चिनी उद्योगले उखु किसानलाई करिब १ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी दिएका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार, एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजले यो रकम किसानलाई दिएका हुन्।
आर्थिक वर्ष २०८२/८३ को याममा किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु उद्योगमा बुझाएका थिए। यसको कुल मूल्य १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँ थियो।
कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए।
सरकारले उखु किसानलाई दिने अनुदानका लागि पनि सिफारिस भएको छ। जिल्ला भुक्तानी समितिले २० करोड सात लाख ५९ हजार ११७ रुपैयाँ अनुदान भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरेको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले यो सिफारिस गरेको हो। जिल्ला प्रशासन कार्यालय महोत्तरीले यसपालीको उखुबापतको मूल्य र अनुदान असार मसान्तभित्र भुक्तानी गरिसक्ने जनाएको छ।
