रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, आर्थिक वर्ष २०७६/०७७ मा गढीमाई नगरपालिकाले समनपुर नाकाको नदीजन्य पदार्थ उत्खनन ठेक्का भाग्यामणी कन्स्ट्रक्सनलाई ३ करोड २५ लाख रुपैयाँमा दिएको थियो। तर, कम्पनीले तोकिएको समयमा रकम बुझाएन।
पदाधिकारीहरूले ठेक्काको सर्त विपरीत एक करोड रुपैयाँ दाखिला भएको झुटो विवरण तयार पारे। सोही फर्जी कागजातका आधारमा कम्पनीलाई एक महिनाका लागि अस्थायी उत्खनन अनुमति दिइयो।
उक्त अवधिमा कम्पनीले ५४ हजार ३ सय ५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्यो। यसबाट ३ करोड ३२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको लाभ हासिल गरेको अख्तियारको भनाइ छ। ठेक्का सम्झौता र मूल्य अभिवृद्धि करसहित २ करोड ५७ लाख ६२ हजार रुपैयाँ नगरपालिकालाई बुझाइएन। यसले सरकारी राजस्वमा ठूलो नोक्सानी पुर्यायो।
यस प्रकरणमा मेयर श्याम प्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर र राजस्व शाखा प्रमुख बालकिशोर राय मुख्य अभियुक्त छन्। अख्तियारले उनीहरूसँग जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो दाबी गरेको छ। कैद सजाय र बिगोको दोब्बर जरिवाना पनि माग गरिएको छ।
भाग्यामणी कन्स्ट्रक्सनका राधेश्याम साहलाई पनि भ्रष्टाचारमा मतियारको अभियोग लागेको छ। उनीसँग पनि सोही बराबरको बिगो र सजाय मागदाबी गरिएको छ।
