रौतहट प्रशासनले विद्यालय र स्वास्थ्य संस्था वरपर १०० मिटरभित्र सूर्तिजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको छ, उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कानुनविपरीत सूर्तिजन्य पदार्थ बिक्री गरे कारबाही हुने चेतावनी दिएको छ। बालबालिका, विद्यार्थी र गर्भवती महिलामा सूर्तिजन्य पदार्थको पहुँच बढेको गुनासोपछि यो निर्णय आएको हो।
प्रशासकीय अधिकृत मणि भूषण साहद्वारा जारी सूचनाअनुसार, १८ वर्षमुनिका व्यक्ति, विद्यार्थी र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री, वितरण वा निःशुल्क उपलब्ध गराउन कानुनले रोक लगाएको छ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार, विद्यालय, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र सरकारले तोकेका सार्वजनिक स्थानबाट १०० मिटरभित्र सूर्तिजन्य पदार्थ बिक्री गर्न पाइँदैन।
कानुन उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीलाई ऐनको दफा १७ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। सूर्तिजन्य पदार्थ सेवनले स्वास्थ्य, पारिवारिक र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्ने प्रशासनको भनाइ छ।
प्रशासनले अभियान प्रभावकारी बनाउन सबै स्थानीय तह, सुरक्षा निकाय र प्रहरी कार्यालयलाई कानुन कडाइका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ। यसमा आम नागरिक, व्यवसायी तथा सरोकारवालाको सहयोग पनि आह्वान गरिएको छ।
