नेपालमा लगानी विस्तार गर्न संयुक्त अरब इमिरेट्स (यूएई) ले विशेष रुचि देखाएको छ। यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियोडीले नेपालको कृषि, रेलवे र ‘हरित डाटा सेन्टर’ जस्ता क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँगको भेटवार्तामा उनले यस्तो चासो व्यक्त गरेका हुन्।
उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको बैठकमा द्विपक्षीय व्यापार, लगानी विस्तार र आपसी सहकार्यका आयामबारे छलफल भएको थियो। मन्त्री डा. थानीले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरे।
यूएईले नेपालको कृषि क्षेत्रमा लगानी गर्न गहिरो रुचि देखाएको छ। मन्त्री डा. थानीले कृषि परियोजनामा लगानी सहजीकरण गर्न अनुरोध गरे। प्रतिनिधिमण्डलका निजी क्षेत्रका प्रतिनिधिले नेपालको रेलवे क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरे। उनीहरूले यसका लागि कानुनी र व्यावहारिक सहजताको अपेक्षा राखेका छन्।
नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा सम्भावना औँल्याउँदै यूएई सरकारले नेपालमा ‘हरित डाटा सेन्टर’ स्थापना गर्ने योजना बनाएको छ। यसका लागि आवश्यक लगानी भित्र्याउन आफूहरू तयार रहेको प्रतिनिधिमण्डलले जानकारी गराएको छ।
भेटवार्तामा नेपालमा उत्पादित फलफूल तथा तरकारी यूएई निर्यात गर्ने सम्बन्धमा दुवै देशबीच समझदारी कायम गर्ने प्रतिबद्धता जनाइएको छ। नेपाली उत्पादन निर्यात सहज बनाउन खाद्य गुणस्तर निर्धारण र प्रमाणीकरणमा यूएईले प्राविधिक सहयोग र लगानी गर्ने भएको छ।
उद्योगमन्त्री यादवले ‘नेपाल–यूएई व्यापार मञ्च’ विस्तार र सुदृढ गर्न प्रस्ताव राखिन्। यूएई पक्षले यसलाई सकारात्मक रूपमा लिँदै ठोस छलफल अघि बढाउने बताएको छ। मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘फ्लाई दुबई’ उडान सञ्चालन गर्न तयार भएकोमा यूएई सरकारलाई धन्यवाद दिइन्।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष चन्द्र ढकालले यूएईका लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, शहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग, औद्योगिक विकास तथा आपूर्ति शृङ्खला जस्ता क्षेत्रमा लगानीका लागि अहिले उपयुक्त समय भएको बताए। यस उच्चस्तरीय भेटवार्ताले नेपालमा वैदेशिक लगानी भित्र्याउन सहज वातावरण बन्ने अपेक्षा छ।
