त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि मोटरसाइकलमा ह्विल लक लगाइएपछि आफैंलाई आगो लगाउने गणेश नेपालीको परिवारले राज्यका कुनै पनि अंगले घटनाको जिम्मेवारी नलिएसम्म शव बुझ्न अस्वीकार गरेको छ।
शनिबार अबेरसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सरकारी पक्षसँग संवाद जारी रहे पनि कुनै निष्कर्ष निस्कन सकेको छैन। मृतकका भतिजा मन नेपालीका अनुसार सरकारबाट स्पष्ट सहमति नभएसम्म शव नउठाउने अडान परिवारको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले वार्ताको नेतृत्व गरिरहेका छन्।
बिहीबार वीर अस्पताल भर्ना भएका नेपालीको शुक्रबार उपचारका क्रममा ज्यान गएको थियो। उनको न्यायका लागि शनिबार अस्पतालअगाडि प्रदर्शनसमेत भएको थियो। परिवारले शव बुझ्न अस्वीकार गरेपछि वीर अस्पतालले शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको शवगृहमा सारेको छ, किनकि वीर अस्पतालमा शव सुरक्षित राख्ने पूर्वाधारको अभाव छ।
परिवारले शव नबुझेसम्म मुचुल्का र पोस्टमार्टमको प्रक्रिया अघि बढ्न नसक्ने अवस्था छ। प्रधानमन्त्री कार्यालयले पनि परिवारसँग सहमति गर्न चासो देखाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले छिट्टै सहमति हुने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, काठमाडौं महानगरपालिकाले गणेशका परिवारलाई सहयोग, रोजगारी र निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले कार्यपालिका बैठकबाट यससम्बन्धी निर्णय गरिने र यस्ता घटना दोहोरिन नदिन सरकारसँग समन्वय गरिने बताएका छन्।
घटनाको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार, बिहीबार बिहान यात्रु पुर्याउन विभाग पुगेका गणेशलाई एक महिला नगर प्रहरीले मोटरसाइकल नरोक्न भनेपछि वादविवाद भएको थियो। त्यस क्रममा मोटरसाइकलमा ह्विल लक लगाइएको थियो।
प्रहरीको प्रारम्भिक निष्कर्ष छ कि ह्विल लक लगाइएको करिब दुई घण्टापछि गणेशले शरीरमा पेट्रोल खन्याएका थिए। नगर प्रहरीका कर्मचारीले भने कागजात देखाएको भए जरिवाना तिराएर छाड्ने तर अटेरी गरेपछि मोटरसाइकल नियन्त्रणमा लिन गाडी बोलाइएको बताएका छन्।
घटना कसरी भयो, कसको कमजोरी रह्यो भन्नेबारे सीसीटीभी फुटेजसहित विभिन्न कोणबाट छानबिन भइरहेको छ। समितिका प्रमुख डीआईजी थपलियाले यथाशीघ्र प्रतिवेदन बुझाउने बताएका छन्।
मुगुको सोरु गाउँपालिका स्थायी घर भई भक्तपुरको कमलविनायक बस्दै आएका गणेश तीन महिनाअघिमात्र कृषि प्राविधिक पढाइ सकेर पल्सर मोटरसाइकल किनेर ‘पठाओ’ चलाइरहेका थिए।
यसैबीच, काठमाडौंको बुद्धनगरमा शनिबार आफैंलाई आगो लगाएका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा ज्यान गएको छ। सिरहा स्थायी घर भएका राउत सुपर वायर एन्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिव्यश्री ट्रेड कन्सर्नका सञ्चालक थिए।
