अविरल वर्षा र बाढीले कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका मुख्य राजमार्ग अवरुद्ध पारेको छ। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीले यातायात सञ्चालन ठप्प पारेको हो।
प्रहरीले सोमबार बिहान ६:३० बजेसम्म दिएको जानकारीअनुसार, कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग असार १२ गतेको बाढीपछि एकतर्फी सुचारु छ। सोही स्थानमा वैकल्पिक बाटो पनि सञ्चालनमा छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि अविरल वर्षाले पूर्ण रूपमा अवरुद्ध छ। हाल उक्त राजमार्गमा वैकल्पिक बाटोमार्फत यातायात सञ्चालन भइरहेको छ।
