विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ। न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिनको म्याद थपको आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। त्यसयता उनलाई यसअघि चार पटक विशेष अदालतबाट म्याद लिई न्यायिक हिरासतमा राखी अनुसन्धान गरिएको थियो।
पौडेलमाथि व्यवसायी भट्टलाई गैरकानुनी लाभ पुर्याउन सहयोगी भूमिका खेलेको आरोप छ। विशेष अदालतमा थुना म्याद माग गर्ने क्रममा सरकारी वकिलले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषय शंकास्पद रहेको दाबी गरेका थिए।
विभागले हिमालय एजेष्ट म्यानेजमेन्ट प्रालिको किनबेचका विषयमा अनुसन्धान गर्दा उक्त कम्पनीले विभिन्न ठाउँमा गरेको लगानीको वास्तविक स्वामित्वकर्तामाथि शंका उत्पन्न भएकाले पौडेललाई पक्राउ गर्नु परेको सरकारी वकीलको दाबी छ।
