रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह ५० हजार घुससहित भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई एक महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
रोक्का रहेको जग्गा फुकुवा गरिदिने प्रयोजनका लागि सिंहले ५० हजार रुपैयाँ घुस लिएका थिए। अख्तियारको टोलीले १७ चैतमा उनलाई रंगेहात पक्राउ गरेको थियो।
अख्तियारले २१ वैशाखमा मुद्दा दायर गरेको थियो। अदालतले दोषी ठहर गरेसँगै सिंहले एक महिना कैद र ५० हजार जरिवाना भुक्तान गर्नुपर्नेछ।
